
काठमाडौं । साविक विजेता मच्छिन्द्र फुटबल क्लबले जारी ए डिभिजन लिगमा आफ्नो शिर्षतालाई कायम राखेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले संघर्षरत टोली च्यासल युथ क्लबमाथि २–० को जित निकाल्यो ।
मच्छिन्द्रको जितमा यस सिजन लयमा देखिएका बिमल घर्ती मगरले १७औं मिनटमा पहिलो गोल गरे । त्यस्तै ३५औं मिनटमा सुनिल बलले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।
खेलमा मच्छिन्द्रका बिमल घर्ती मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । यो जितसँगै १० खेलबाट २६ अंक जोडेको मच्छिन्द्र शिर्ष स्थानमा यथावत छ । उता पराजित च्यासल भने ५ अंकका साथ पुछारमा छ ।
सातदोबाटोसँग पुलिस निराश
त्यस्तै एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा नवआगन्तुक टोली सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबमाथि १–० को साँघुरो जित निकाल्यो । सातदोबाटोका लागि १९औं मिनटमा आकाश बुढा मगरले गरेको एक मात्र गोल निर्णयक बन्यो ।
यो जितपछि १० खेलबाट १५ अंक जोडेको सातदोबाटो लिगतालिकाको पाँचौं स्थानमा छ । उता पराजित पुलिस भने १० अंकका साथ दशौं स्थानमा छ ।