News दोस्रो सुस्ता अध्यक्ष कपको तयारी पूरा
सुरज राना मगर

सुस्ता । दोस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी भएको आयोजकले जनाएको छ । यहि फागुन १४ गतेदेखि शुरु हुन गईरुहेको प्रतियोगिताको खेलतालिका पनि आयोजकले सार्वजनिक गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली सुस्ता–११ र नव युवा क्लब, सुर्यनगर भिड्ने प्रतियोगिता संयोजक धिरज गुरुङले जानकारी दिए । सुस्ता गाउँपालिका, नवलपरासीको आयोजनामा हुन गईरहेको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएको संयोजक गुरुङले बताए ।

“हाम्रो योजना प्रतियोगितालाई राष्ट्रियस्तर मै पुर्याउने भएकोले त्यसका लागि आउँदा दिनहरुमा थप राम्रो गर्ने प्रयासमा छौं । स्थानीय प्रशासनको पनि सहयोग मिलेकोले आगामी दिनहरुमा प्रतियोगिताले अझै भव्य रुप लिने विश्वास लिएका छौं ।” संयोजक गुरुङले भने ।

उनले सुस्ता गाउँपालिका नवलपरासीको बजार क्षेत्रबाट केही भित्र भए तापनि प्रतियोगिता आयोजनाले समग्र सुस्ताको पहिचान बन्ने बताए । साथै समग्र सुस्ता कै प्रतिनिधित्व गर्ने भएकोले प्रतियोगितालाई सबैले साथ दिई सफल पार्न आह्वान समेत गरे ।

एकता युवा क्लब तथा जरलैया युवा क्लब, सुस्ता–४, नर्सहीको व्यवस्थापन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने फागुन २८ गतेका दिन हुने पनि संयोजक गुरुङले जानकारी दिए ।

Post Comments