News एन्थोनी नायक बन्दा फ्रेण्डस खप्तड गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

धनगढी । फ्रेण्डस क्लब, कुपण्डोल यहाँ जारी पाँचौं मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न क्वाटरफाइनल खेलतर्फ फ्रेण्डसले क्यामरुनी टोली एभनिर एफसीलाई शुन्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

धनगढी रंगशालामा सम्पन्न खेलमा फ्रेण्डसका लागि दुवै गोल जमुल एन्थोनीले गरे । खेलको ५३औं मिनटमा उनले पहिलो गोल गरेका थिए भने लगतै ६२औं मिनटमा पेनाल्टीबाट दोस्रो गोल गर्दै फ्रेण्डसको जित सुनिश्चित गरेका थिए ।

खेलमा जमुल एन्थोनी नै म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत फागुन २३ गतेको क्वाटरफाइनल खेल हिमालयन शेर्पा क्लब र आयोजक सुदुरपश्चिम–११ बीच हुने आयोजकले जनाएको छ ।

सुदुरपश्चिम–११ स्पोर्टस क्लब, धनगढीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments