News फ्रेण्डस खप्तड गोल्डकपको फाइनलमा, उपाधिका लागि मनाङसँग भिड्ने
सुरज राना मगर

धनगढी । फ्रेण्डस क्लब, कुपण्डोल यहाँ जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेकोे छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा फ्रेण्डसले राम्रो लयमा देखिएको बागमती युथ क्लबलाई २–१ ले हराउँदै फाइनलमा मनाङ मस्र्याङ्दीसँगको भेट पक्का गरेको हो ।

धनगढी रंगशालामा भएको खेलमा फ्रेण्डसले दोस्रो हाफ मै दुई गोलको स्पष्ट अग्रता बनायो । जुन अग्रता नै खेलको निर्णायक पनि बन्यो । खेलको ६४औं मिनटमा जमुल एन्थोनीको गोलबाट फ्रेण्डसले खेलमा शुरुवाती अग्रता लिएको थियो । त्यस्तै ७१औं मिनटमा राजिव लोप्चनले त्यो अग्रता दोब्बर पारे । जुन निर्णायक गोल पनि बन्यो ।

उता बागमतीका लागि ८३औं मिनटमा ड्याडी वाम्बाले एक गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् । अब फ्रेण्डसले उपाधिका लागि फागुन २८ गते शनिबार दावेदार मानिएको मनाङसँग खेल्नेछ ।

सुदुरपश्चिम–११ स्पोर्टस क्लब, धनगढीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments