News झापाका खेलाडीहरु सम्मानित
गोलनेपाल

झापा । अर्जुनधारा नगरपालिकाले कराते खेलाडी एस्तर राईसहित फुटबल खेलमा विजेता बनेको नगरस्तरीय टिमलाई आइतबार नगदसहित सम्मान गरेको छ ।

दुई साताअघि झापाको सुरुंगामा सम्पन्न पालिकास्तरीय फुटबल प्रतियोगितामा अर्जुनधारा नगरको टिमले उपाधि रक्षा गरेको थियो ।

दोस्रो पटक उपाधि रक्षा गरेको फुटबल टिमका खेलाडी तथा अफिसियललाई नगद ५ हजारका दरले एक लाख रुपैयाँ र एक थान ट्रयाकसुट प्रदान गरिएको हो ।

यसैबीच, गत महिना सम्पन्न १३औँ दक्षिण एसियाली गेम्स (साग)मा करातेको कुमुतेतर्फ कास्य पदक जितेकी अर्जुनधारा ५ कि एस्तर राईलाई नगद २५ हजार र ताम्रपत्रसहित सम्मान गरिएको छ ।

नगरपालिकामा आयोजित खेलाडी सम्मान तथा सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नगर प्रमुख हरिकुमार राना र नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचेले खेलाडीहरुलाई पुरस्कार तथा सम्मान गरेका हुन् ।

Post Comments