News दुई दावेदारको रोमाञ्चक बराबरी
गोलनेपाल

काठमाडौं । उपाधिको दावेदार मध्ये दुई टोली साविक विजेता मनाङ मस्र्याङ्दी क्लब र स्टार खेलाडीहरुले भरिएको मच्छिन्द्र क्लबले कतार एयरवेज ए डिभिजन लिगमा सोमबार रोमाञ्चक बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका हुन् । खेल शुरु भएको दोस्रो मिनटमै फेमि जोशुवाको गोलबाट मनाङले खेलमा अग्रता बनाएको थियो ।

साथै, मनाङले त्यो अग्रतालाई पहिलो हाफसम्म जोगाउन समेत सफल भयो । तर, ४६औं मिनटमा मनाङ कै पूर्व स्टार मिडफिल्डर सुजल श्रेष्ठले मच्छिन्द्रका लागि बराबरी गोल फर्काए ।

खेल १–१ को नतिजातर्फ लम्किरहेका बेला मनाङ कै अर्का पूर्व खेलाडी अडिलेजा सोमिडेले मच्छिन्द्रका लागि दोस्रो गोल गर्दै टोलीलाई खेलमा फर्काए । तर, मच्छिन्द्रले त्यो गोलको अग्रता पनि जोगाउन सकेन ।

उता ८८औं मिनटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका बिमल रानाले गोल गर्दै मनाङको सम्भावित हार मात्र टारेनन्, बरु मच्छिन्द्रसँगको महत्वपूर्ण अंक पनि खोस्न सफल भए ।

सोमबार यो नतिजापछि ५ खेलबाट ११ अंक जोडेको मनाङ शिर्ष स्थानमा यथावत छ । उता मच्छिन्द्र १० अंकका साथ दोस्रो स्थानमा छ र मनाङलाई पछ्याउँदैछ ।

Post Comments