News संघर्षपुर्ण जितका साथ एभनिर क्वाटरफाइनलमा
रमेश समदर्शी

सर्लाही । यहाँ जारी छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको अन्तिम प्रिक्वाटरफाइनल खेलबाट अफ्रिकन टोली एभनिर एफसी क्यामरुनले संघर्षपूर्ण जित दर्ता गरेको छ । टाइब्रेकरमा क्यामरूनी टाेली भाग्यमानी सावित बन्याे ।

एपिएफ एफसीलाई टाइब्रेकरमा पराजित गर्दै क्यामरुनी टोलीले क्वाटरफाइनल खेलमा स्थान सुरक्षित गरेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा ४-२ गोलअन्तरले क्यामरुन विजयी बन्यो । 

खेलमा पहिलो हाफको ३८औँ मिनेटमा क्यामरुनी टोलीका कप्तान रोनीले आकर्षक गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि पाएको थुप्रै अवसर खेर गएको थियो भने केही प्रहार एपिएफका गोलरक्षक कुरियामाले बचाउ गरेका थिए । 

पहिलो हाफकै सुरुवातीमै पाएको अवसर एपिएफले खेर फ्याँकेको थियो । एफिएफ खेलमा फर्कन खेलको ८२औँ मिनेट पर्खिनुपरेको थियो । जसमा परिवर्तित खेलाडी सविन गुरुङले गोल गरेर एफिएफ खेलमा फर्किएको थियो । तर, जितका लागि सम्भव भएन । 

कार्डको वर्षा, २ रेड कार्ड

रोमाञ्चक अनि प्रतिस्पर्धात्मक खेलमा कार्डको वर्षा भएको थियो । दुवै टोली आक्रामकरुपमा प्रस्तुत हुँदा रेफ्री नविन्द्र महर्जनले कुल १३ वटा कार्ड देखाउनु परेको थियो । जसमा २ वटा रेड कार्ड रह्यो । दोहोरो पहेँलो कार्डपछि रेड कार्ड देखाइएको हो । 

११ वटा पहेँलो कार्ड देखाइँदा एपिएफका ५ खेलाडी परे भने बाँकी पहेँलो कार्ड क्यामरुनी खेलाडीले पाएका थिए । दोहोरो पहेँलो कार्डपछि रेड कार्ड पाउँदै जोसपिन र एटोका मैदान छाड्न बाध्य बने । एटोकाले खेल सकिन २ मिनेट र जोसपिनले १ मिनेट बाँकी रहँदा मैदान छाडेका हुन् । 

खेलको म्यान अफ दी म्याच एपिएफको ३ वटा प्रहार रोकेका क्यामरुनी गोलरक्षक रोड्रिग्भे घोषित भए । उनले नगद १० हजार पाए । भोलि (आइतबार)को खेल पिप्ले युवा क्लब हेटौँडा र हिमालयन शेर्पा क्लबबीच पहिलो क्वाटरफाइनल खेल हुनेछ । 

बागमती युवा क्लब र बागमती नगरपालिका सर्लाहीको संयुक्त आयोजनामा भएको प्रतियोगितामा १२ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १० लाख पुरस्कार पाउने छ । उपविजेताले नगद ५ लाखमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments