News मच्छिन्द्रलाई निराश बनाउँदै पिप्लेद्वारा उपाधि रक्षा
गोलनेपाल

बागमती । साविक विजेता पिप्ले युथ क्लब, हेटौडाले छैठौं राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । आइतबार भएको फाइनल भिडन्तमा लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई सडन डेथमा ४–३ ले हराउँदै पिप्लेले उपाधि रक्षा गर्न सफल भएको हो ।

त्यसअघि स्व.सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछिको टाईब्रेकर पनि नतिजाविहीन बनेपछि खेलको निर्णय सडन डेथबाट निस्किएको थियो । फाइनल खेलमा पिप्लेका गोलरक्षक अशोक बराल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी पिप्लेका रुपक लामा घोषित भए । उनले पुरस्कार वापत नगद ५१ हजार र ट्रफी हात पारे । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका बिशाल श्रेष्ठ घोषित हुँदा उत्कृष्ट डिफेन्डर आयोजक बागमतीका अमर श्रेष्ठ चुनिए ।

त्यस्तै उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका सुजल श्रेष्ठ बन्दा उत्कृष्ट फरवार्ड पनि मच्छिन्द्र कै बिमल घर्ती मगर घोषित भए । उत्कृष्ट प्रशिक्षक च्याम्पियन पिप्ले युथका सुबिन घिमिरे चुनिए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २५–२५ हजार र ट्रफी हात पारे ।

बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता पिप्ले युथले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता मच्छिन्द्रले ५ लाखमा चित्त बुझाउन बाध्य बन्यो ।

Post Comments