News जितको लयमा फर्कदै फ्रेण्डस
गोलनेपाल

काठमाडौं । हालै क्लबमा आवद्ध भएका उत्तम राईले दुई गोल गरेपछि कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा फ्रेण्डस क्लबले दोस्रो जित हात पारेको छ ।

आइतबार एन्फा कम्पलेक्समा भएको दोस्रो खेलमा फ्रेण्डसले यस सिजन खराब लयमा देखिएको सरस्वतीलाई ४–१ ले हरायो । फ्रेण्डसका लागि पाचौं मिनटमै उत्तम राईले पहिलो गोल गरे ।

२४औं मिनटमा ब्राजिलियन खेलाडी साउलो डि एक्विनोले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफसम्म २–० को अग्रता बनाएको फ्रेण्डसले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

फ्रेण्डसका लागि ७०औं मिनटमा वेग्नर कार्नोले तेस्रो गोल गर्दा उता सरस्वतीका लागि ८०औं मिनटमा काजिम बुशारीले एक मात्र सान्त्वना गोल फर्काए । तर, फ्रेण्डस त्यति मै रोकिएन, ८६औं मिनटमा उत्तम राईले नै फ्रेण्डसका लागि चौथो गोल गर्दै टोलीको शानदार जित पक्का गरे ।

खेलमा उत्तम राई नै म्यान अफ द म्याच घोषित भए । यो जितसँगै ७ खेलबाट ८ अंक जोडेको फ्रेण्डस लिगतालिकाको नवौं स्थानमा उक्लिएको छ । उता पराजित सरस्वती भने १ अंकका साथ पुछारमा छ । र, उसको लिग यात्रा थप कठिन भईदिएको छ ।

एनआरटी पनि सफल

आइतबार नै भएको पहिलो खेलमा न्युरोडटिम (एनआरटी) ले विभागीय टोली एपिएफ क्लबलाई ३–२ ले हराउँदै महत्वपूर्ण तीन अंक जोड्यो । यो जितपछि ७ खेलबाट ११ अंक जोडेको एनआरटी चौथो स्थानमा उक्लिएको छ । उता एपिएफ भने ५ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

Post Comments