News मनाङलाई स्तब्ध पार्दै एपिएफ चितवन गोल्डकपको फाइनलमा
गोलनेपाल

चितवन । दावेदार मानिएको मनाङ एफसीलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब जारी इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार नारायणगढ स्थित क्याम्पाचौरमा सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफले मनाङलाई १–० को साँघुरो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । दोस्रो हाफको दशौं मिनटमा हरि कार्कीले गरेको एक मात्र गोल एपिएफलाई फाइनल पुर्याउन निर्णायक बन्यो ।

खेलको अन्तिमतिर पुजन उपरकोटीले रातो कार्ड खाँदा मनाङ दश खेलाडीमा सिमित बन्न पुगेको थियो । खेलमा एपिएफका सनिश श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरसकार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत असोज १ गते शनिबारको दोस्रो सेमिफाइनल खेल अर्को दावेदार टोली त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं र एभनिर एफसी, क्यामरुन बीच हुने खेल संयोजक ध्रुव भुषालले जानकारी दिए ।

केबिए ग्लोबल भरतपुर एफसी, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।

Post Comments