News साविक विजेता बिराटनगरको विजयी शुरुवात
गोलनेपाल

रौतहट । चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा साविक विजेता विराटनगर महानगरपालिका, मोरङले विजयी शुरुवात गरेको छ ।

समूह बी मा रहेको बिराटनगरले शनिबार आफ्नो पहिलो खेलमा बिरेन्द्रनगर नगरपालिका, सुर्खेतलाई १–० को झिनो अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो ।

चन्द्रपुर–६, रौतहट स्थित शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा भएको खेलमा बिराटनगरका लागि साबित्री मगरले ७२औं मिनटमा एक मात्र निर्णायक गोल गरिन् । खेलको वुमन अफ द म्याच भने पराजित बिरेन्द्रनगरकी श्रृजना सिंह घोषित भईन् ।

त्यस्तै शनिबार नै भएको समूह बी तर्फको पहिलो खेलमा वालिङ नगरपालिका, स्याङजा र बाँसगढी नगरपालिका, बर्दियाबीचको खेल १–१ को बराबरीमा सकियो ।

खेलमा बाँसगढीका लागि ५९औं मिनटमा अजिता घर्ती मगरले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन् । यद्यपि खेलको अन्तिमतिर ८८औं मिनटमा मनमाया दमैले स्याङ्का लागि बराबरी गोल फर्काएकी थिईन् ।

खेलको वुमन अफ द म्याच भने बाँसगढीकी सुरक्षा सुखरिया घोषित भईन् ।

रौतहट जिल्ला फुटबलको संघको आयोजना तथा अलिख नेपाल फुटबल संघ (एन्फा) को संयोजन र व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल यहि माघ १८ गतेका दिन हुनेछ ।

Post Comments