News क्षितिजको निर्णायक गोलले हरिवन सेमिफाइनलमा
गोलनेपाल

बटेश्वर । हरिवन युवा क्लब, सर्लाही यहाँ जारी ११औं बन्देवीमाई गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा हरिवनले आयोजक बन्देवीमाई युवा क्लब, धनुषालाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

बटेश्वर गाउँपालिका–२, सीतापुर स्थित स्थानीय खेलमैदानमा भएको खेलमा हरिवनका लागि क्षितिज भण्डारी नायक बने । भण्डारीले पहिलो हाफमा गरेको एक मात्र गोल हरिवनलाई सेमिफाइनलमा पुर्यउन निर्णायक गोल बन्यो । हरिवनले अब सेमिफाइनलमा कार्तिक १५ गतेका दिन बिरगंज युनाइटेड, पर्सासँग खेल्नेछ ।

खेलमा आयोजक बन्देवीमाईका गोलरक्षक आकाश श्रेष्ठ म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तरगत कार्तिक १० गते बिहीबारका दिन तिहारको भाईटिका रहेकाले सो दिन खेल नहुने आयोजकले जनाएको छ । त्यस्तै कार्तिक ११ गते सुचारु हुने प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा सलहेश युवा क्लब, सिरहा र गाईघाट फुटबल क्लब, उदयपुर भिड्ने आयोजकले जानकारी दियो ।

बन्देवीमाई युवा क्लब, बटेश्वर–२, सीतापुर, धनुषाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि कार्तिक १७ गतेका दिन हुनेछ ।

Post Comments