News ब्रदर्स युनाइटेड सेमिफाइनलमा
रमेश समदर्शी

शनिश्चरे । झापाको अर्जुनधारा १० स्थित कालिस्थान माविको खेलमैदानमा आजदेखि सुरु भएको एन्फा रेफ्री स्व. खेम तामाङ स्मृृति फुटबल प्रतियोगितामा चन्द्रगढीको ब्रदर्स युनाइटेड एफसीले विजयी सुरुवात गरेको छ । झापामा पहिलाेपल्ट रेफ्री सदस्यकाे स्मृतिमा फुटबल प्रतियाेगिता सुरू गरिएकाे हाे । 

झापाको ८ टिम सहभागी प्रतियोगितामा स्पर्धी बुद्धशान्ति गाउँपालिकाको नवज्योति युवा क्लब जयपुरलाई २-० गोलले पराजित गर्दै भद्रपुर चन्दगढीको ब्रदर्स युनाइटेड समिफाइनलमा प्रवेश गरेको हो । 

ब्रदर्स युनाइटेडका लागि दुवै गोल कप्तान कर्ण लिम्बूले गरेका थिए । खेलको २३औँ मिनेटमा पाएकाे पेनाल्टी अवसरमा कप्तान कर्ण लिम्बूले गोलको खाता खोलेका थिए । उनैले खेलको ५३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई सेमिफाइनलमा प्रवेश गराए । 

प्रतिस्पर्धात्मक खेलमा उनी म्यान अफ दी म्याच घोषित हुँदै नगद १५ सय पाउन सफल भए । मनास्लु युवा क्लब शनिश्चरेको आयोजनामा भएको उद्घाटन खेलका प्रमुख अतिथि अर्जुनधारा १० का अध्यक्ष भूपेन्द्र न्यौपाने थिए । 

२०२३ साल फागुन ३ गते जन्मिएका एन्फा रेफ्री स्व. खेम तामाङको गत जेठ १२ गते निधन भएको थियो । उनै एन्फा रेफ्री तामाङको स्मृतिमा स्थानीय मनास्लु फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता झापाका ८ टिम सहभागी छन् । 

झापा जिल्ला रेफ्री संघ तथा झापा जिल्ला फुटबल संघको प्रत्यक्ष सहयोग रहेको प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार पाउनेछ । त्यस्तै, ५ विधाका खेलाडीले जनही २ हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याच बन्ने खेलाडीले नगद १५ सय पाउने छन् । 

भोलि मंगलबार दमकको गोर्खा स्पोर्टिङ क्लब र बिर्तामोड युनाइटेड एफसीबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार पाउने छ । त्यस्तै प्रतियोगिताको उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

मनास्लु एफसीका अध्यक्ष मनोज गोम्देनको अध्यक्षतामा भएको उद्घाटन खेलमा विभिन्न खेलप्रेमी महानुभावले खेल सामग्री सहयोग गरेका थिए । फुटबल संघका अध्यक्ष आलेले स्वागत गरेको कार्यक्रमको सञ्चालन पूर्व जनप्रतिनिधि मनोज तामाङले गरेका थिए ।

Post Comments