News प्रथम भैरव कप शुरु, विपी स्मृतिको विजयी शुरुवात
सुरज राना मगर

बर्दघाट । भैरव स्पोर्टस क्लब, नवलपरासीको आयोजनामा मंसिर २२ गते बिहीबारदेखि शुरु प्रथम भैरव कप नकआउट फुटबल प्रतियोगितामा विपी स्मृति क्लब, नवलपरासीले विजयी शुरुवात गरेको छ ।

गोपीगंज खेलमैदानमा भएको उद्घाटन खेलमा विपी स्मृतिले बुढाबस्ती पिपुल क्लब, नवलपरासीलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै विजयी शुरुवात गरेको छ । विपी स्मृतिको जितमा सुरज आले मगरले दुई गोल गरे । त्यस्तै सुदिप विश्वकर्मा र सोनम सारुले थप एक–एक गोल गरे ।

खेलमा विपी स्मृतिका सुरज आले म्यान अफ द म्याच घोषित भए । उनलाई नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष धन प्रसाद गुरुङले नगदसहित पुरस्कृत गरे ।

आउँदो पुष २ गतेसम्म चल्ने प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अन्जन अधिकारीले जानकारी दिए ।

नवलपरासी जिल्लामा फुटबललाई चलायमान राख्न र स्थानीय खेलाडीहरुलाई फुटबलमा अवसर प्रदान गर्न पहिलोपटक प्रतियोगिता आयोजना गरिएको अध्यक्ष अधिकारीले बताए । साथै प्रतियोगितालाई सबैको साथ र सहयोगमा आगामी दिनमा पनि निरन्तरता दिने योजना रहेको बताए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी बर्दघाट नगरपालिका, नवलपरासीका मेयर शम्भुलाल श्रेष्ठ, स्थानीय समाजसेवी तथा फुटबलप्रेमी भिमकाजी गुरुङ, आयोजक क्लबका महासचिव सुदिप भण्डारीले संयुक्त रुपमा गरेका थिए ।

Post Comments