News अल स्टार क्लब, तनहुँ भैरव कपको सेमिफाइनलमा
सुरज राना मगर

बर्दघाट । अल स्टार क्लब, तनहुँ यहाँ जारी प्रथम भैरव कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा अल स्टारले ३९ जिटीसी क्लब, भारतलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनल यात्रा पक्का गरेको हो ।

बर्दघाट–१४, गोपीगंज स्थित स्थानीय खेलमैदानमा भएको खेलमा अल स्टारका लागि अनुज मगरले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलमा दुवै टोलीले राम्रा गोलका प्रयासहरु सदुपयोग गर्न सकेनन् । ३९ जिटीसीले पटक–पटकको अवसरहरुलाई खेर फाल्दा निराश बन्न पुग्यो ।

खेलमा अल स्टारका गोलरक्षक अनिष महतो म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर २८ गते बुधबारको पहिलो सेमिफाइनल खेल फर्साटिकर युवा क्लब, रुपन्देही र आयोजक भैरव स्पोर्टस क्लब, बर्दघाट बीच हुने आयोजक क्लबका अध्यक्ष अन्जन अधिकारीले जानकारी दिए ।

बुद्धबस्ती पिपल्स क्लब, बर्दघाट–१४, नवलपरासीको संरक्षकत्व रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्नेछ । सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही १५–१५ हजार प्रदान गरिने अध्यक्ष अधिकारीले बताए । फाइनल खेल पुष २ गतेका दिन हुनेछ ।

Post Comments