News गोलको वर्षा गर्दै आयोजक नमूना अन्तिम चारमा
रमेश समदर्शी

झापा । पाहुना टोली भारत सिलिगुडीको एबी फुटबल सीसीको गोलपोस्टमा आयोजक नमुना एफसीले गोल वर्षा गरेको छ । अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा ७-० गोलको अन्तर निकाल्दै आयोजक नमुनाले अन्तिम चारमा स्थान बनायो । 

सिलिगुडीविरुद्ध खेलमा आयोजकले दुई ह्याट्रिक पूरा गर्यो । आयोजकका रोमन भुजेल र विशाल खवासले ह्याट्रिक पूरा गरेका हुन् । अहिलेसम्मकै पहिलो ह्याट्रिक र ७ गोलको रेकर्ड आयोजकले बनाएको हो । 

खेलको २ मिनेटमै गोल गर्दै आयोजकले अग्रता लिएको थियो । आयोजकका रोमन भुजेलले सम्झनलायक गोल गरेका थिए । उनले खेलको ५९औँ र ७६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । खेलमा उनले अर्को ह्याट्रिकको अवसर गुमाएका थिए । 

यस्तै, आयोजकका लागि विशाल खवासले खेलको ३४औँ मिनेटमा गोल गर्दै रोमनको गोलपछि अग्रता दोब्बर बनाएका थिए । उनले ७०औँ र ७८औँ मिनेटमा गोल गर्दै अर्को ह्याट्रिक पूरा गरे । उनले रोमनको ह्याट्रिकमा एसिस्ट पनि गरेका थिए । उनी आजको खेलको म्यान अफ दी म्याच पनि बने । 

७औँ गोल पुजन उपरकोटीको नाममा रह्यो । खेलको ४६औँ मिनेटमा उनले गोल गरेका थिए । पहिलो हाफमा २ गोलमात्र सम्भव भएको थियो । बाँकी ५ गोल दोस्रो हाफमा भएको हो । सिलिगुडीका खेलाडीले केही अवसर सिर्जना गरे पनि गोलपोस्टको दिशा दिन सकेनन् । 

म्यान अफ दी म्याच बनेका विशाल खवासलाई झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले नगद २ हजार प्रदान गरे । भोलि इलामको रेडहर्ष एफसी र अमेरिकाको बीवाईएससीबीच खेल हुनेछ । 

नेपाल, भारत र अमेरिकाका ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ पाउँदा उपविजेताले नगद ५१ हजार १११ र ट्रफी पाउने आयोजकले जनाएको छ ।

Post Comments