News मोहनको चार गोलसँगै सुनौलो संगम क्वाटरफाइनलमा
सुरज राना मगर

बसही । मोहन थापा मगर एक्लैले ह्याट्रिकसहित चार गोल गरेपछि सुनौलो संगम युवा क्लब, देवीनगर यहाँ जारी पाँचौं सरावल अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बसही रंगशालामा शुक्रबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा नौ खेलाडीमा सिमित भएर पनि सुनौलोले दश खेलाडीमा खुम्चिएको हर्नाटार एफसी, बिहारलाई ५–० ले हरायो । सुनौलोका लागि मोहन थापा मगरले चार गोल गर्दा थप एक गोल मनिष थापाले गरे ।

खेलमा दुवै टोलीका खेलाडीहरु विवाद र हातपातमा उत्रिंदा रेफ्रीले सुनौलो संगमका सुबिन विश्वकर्मा र निर बहादुर थापा तथा हर्नाटारका युवराज कुमारलाई रातो कार्ड देखाएका थिए । यद्यपि सुनौलो नौ खेलाडीमा खुम्चिए पनि हर्नाटारले त्यसको फाईदा उठाउन सकेन ।

खेलमा चार गोल गरेका सुनौलोका मोहन थापा मगर म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत पौष २३ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल फोर ब्रदर्श एफसी, नवलपरासी र अरुणखोला युनाइटेड, नवलपुरबीच हुने आयोजकले जानकारी दियो ।

सरावल गाउँपालिकाको आयोजना तथा श्री बसन्त युथ क्लब, सरावल–१, बसही, नवलपरासीको सह–आयोजना र व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल पौष ३० गतेका दिन हुनेछ ।

Post Comments