News न्यू सयपत्रीलाई पाँचौं टुबोर्ग आङ्गबुरा कप महिला फुटबलतर्फको उपाधि
गोलनेपाल

धर्मदेवी । पाँचौ टुबोर्ग आङ्गबुरा कप सेभेन ए साईड महिला फुटबल प्रतियोगिताको उपाधि न्यु सयपत्री युवा क्लब, मुलगाउँले जितेको छ । फाइनलमा डाँडागाउँ सक्रिय क्लब, डाँडागाउँलाई हराउँदै न्यु सयपत्रीले उपाधि आफ्नो कब्जामा पार्न सफल भएको हो ।

धर्मदेवी नगरपालिका–७ स्थित स्थानीय खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको छिनोफानो टाईब्रेकरमा लिनुपरेको थियो । टाईब्रेकरमा न्यु सयपत्रीले नतिजा ३–२ ले आफ्नो पक्षमा पार्दै विजेता बन्न सफल भयो ।

विजेता बनेको सयपत्रीले उपाधिसहित २०,१०५ रुपैयाँ हात पार्यो भने उपविजेता डाँडागाउँ सक्रिय क्लबले नगद १२,१०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ न्यु सयपत्रीकी कबिता खत्री उत्कृष्ट गोलरक्षक बनिन् । उत्कृष्ट डिफेन्डर डाँडागाउँकी सन्ध्या राई चुनिदा उत्कृष्ट मिडफिल्डर डाँडागाउँ कै तिर्थ कुमारी लिम्बु घोषित भईन् । उत्कृष्ट फरवार्ड भने न्यु सयपत्रीकी मनकुमारी जिमी घोषित भईन् ।

न्यु युवा क्लब, धर्मदेवी नगरपालिका–७, संखुवासभाको आयोजनामा गत पौष २६ गतेदेखि शुरु महिला फुटबलतर्फ कुल चार टोलीहरुले सहभागिता जनाएको प्रतियोगिता संयोजक फणिन्द्र जिमीले जानकारी दिए ।

Post Comments