News सन्जोकले लिगको पहिलो ह्याट्रिक गर्दा थ्रीस्टारको उत्कृष्ट जित
गोलनेपाल

काठमाडौं । सन्जोक राईले जारी लिगकै पहिलो ह्याट्रिक गरेपछि रुस्लान थ्रीस्टार क्लबले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा शानदार जित निकालेको छ ।

दशरथ रंगशालामा शनिबार भएको दशौं चरणको पहिलो खेलमा थ्रीस्टारले रेलिगेशन क्षेत्रमा संघर्ष गरिरहेको सरस्वती युथ क्लबलाई ४–० ले हरायो । खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भए ।

४८औं मिनटमा लाल रम्व्राले थ्रीस्टारका लागि पहिलो गोलको खाता खोले । त्यसपछि आक्रमक देखिएको थ्रीस्टारका लागि सन्जोक राईले ५८, ६० र ७२औं मिनटमा लगातार तीन गोल गर्दै टोलीको शानदार जित पक्का गरे । खेलको म्यान अफ द म्याच पनि ह्याट्रिककर्ता सन्जोक राई नै घोषित भए ।

यो जितपछि १० खेलबाट १७ अंक जोडेको थ्रीस्टार चौथो स्थानमा उक्लिएको छ । र, तेस्रो स्थानमा रहेको मनाङ भन्दा २ अंकले पछि छ । यद्यपि मनाङले एक खेल कम खेलेको छ । उता पराजित सरस्वती भने ४ अंकका साथ पुछारमा छ ।

Post Comments