News वालिङ युनाइटेडको ध्यानाकर्षण (विज्ञप्तीसहित)
गोलनेपाल

वालिङ । स्याङ्जाको वालिङमा जारी प्रथम वालिङ गोल्डकपको दोस्रो सेमिफाइनलतर्फ बिहीबार भएको घट्नाबारे आयोजक वालिङ युनाइटेड फुटबल क्लबले ध्यानाकर्षणसहित विज्ञप्ती निकालेको छ ।

स्मरण रहोस, माघ ५ गते बिहीबारका दिन वालिङ गोल्डकपको दोस्रो सेमिफाइनलतर्फ आयोजक वालिङ (रातो) र एभनिर एफसी, क्यामरुनबीचको खेल चलिरहँदा मैदानमा अकस्मात हेलिकप्टर अवतरण भएको थियो ।

कुनै आकस्मिक अवतरणको कारण, जानकारी र आयोजकसँगको कुनै समन्वय बिना नै खेल चलिरहेको मैदानमा हेलिकप्टर अवतरण हुँदा खेल प्रभावित भएको थियो भने हेलिकप्टरमा सवार यात्री र पायलटसँग विवाद र हातपात समेत भएको थियो । हेलिकप्टरमा सवार यात्रुहरु वालिङ कै स्थानीय रहेको बताइएको छ ।

यद्यपि केही सञ्चारमाध्यमहरुको समाचारप्रति भने आयोजक वालिङ युनाइटेडले असन्तुष्टी जनाएको छ । वालिङ युनाइटेडले विज्ञप्ती जारी गर्दै केही सञ्चारमाध्यमहरुमा आएका समाचारहरु ‘कपोलकल्पित र त्यसमा कुनै सत्यता नभएको’ बताएको छ । साथै त्यस्ता सत्यता नभएका समाचारहरुप्रति आयोजक वालिङ युनाइटेडले खेद प्रकट गरेको छ ।

खेलमैदानमा दादागिरी शैलीमा हेलिकप्टर अवतरण गराई खेल प्रभावित पार्ने र खेलाडीसँगै दर्शकहरुको जिउ ज्यानलाई पनि जोखिममा पार्ने खालको यस्तो कार्यप्रति आयोजकले विज्ञप्तीमा चिन्ता व्यक्त गरेको छ ।

‘उक्त हेलिकप्टरमा कोही पनि अतिथी, अफिसियल सामग्री वा वालिङ युनाइटेड क्लबसँग सम्बन्धित व्यक्ति समेत नभएको साथै उक्त हेलिकप्टर अवतरणका लागि स्थानीय प्रशासन, सम्बन्धित निकाय तथा आयोजक क्लबलाई कुनै पनि पूर्व सूचना नभएको र आकस्मिक अवतरण गर्नुपर्ने अवस्था समेत नभएको जानकारी गराउँदछौं ।’ विज्ञप्तीमा लेखिएको छ ।

साथै प्रभु एयरको हेलिकप्टर मैदानमा अवतरण गरेपछि केही आक्राशित दर्शकहरुले हेलिकप्टरमा सवार परिचय नखुलिने पोशाकमा रहेका व्यक्तिहरुसँग भनाभन र हातपात गरेको घट्नाप्रति आयोजक वालिङ युनाइटेडले आफूहरुको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

मानवीय क्षति पुर्याउने नियतसहित हेलिकप्टर अवतरण गराउने पायलट तथा मादक पदार्थ सेवन गरी हेलिकप्टरमा सवार यात्रुहरुलाई कानून बमोजिम उचित कारवाही गर्न आयोजक वालिङ युनाइटेडले मात्र समेत गरेको छ ।

हेर्नुहोस विज्ञप्तीः

Post Comments