News विभागीय भिडन्तमा आर्मी सफल, उपाधि होड पनि कायमै
गोलनेपाल

काठमाडौं । कुल ६ गोल भएको रोमाञ्चक विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४–२ ले हराउँदै आफ्नो लिग उपाधि होड कायम राखेको छ ।

आइतबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा पुलिसले शुरुवाती अग्रता बनाएर पनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्न बाध्य भयो । पुलिसले २०औं मिनटमा बुद्ध लामाको गोलबाट खेलमा अग्रता लिएको थियो ।

यद्यपि ३४औं मिनटमा सुमन अर्यालले आर्मीका लागि बराबरी गोल फर्काए । पहिलो हाफसम्म दुवै टोलीले १–१ को बराबरी खेले तापनि दोस्रो हाफमा आर्मी हावी देखियो ।

तर पनि दोस्रो हाफमा पुलिसले नै खेलमा फेरि अग्रता बनायो । ५८औं मिनटमा मान बहादुर परियारले पुलिसलाई खेलमा फेरि अग्ता दिलाए । तर त्यो अग्रता पनि पुलिसले जोगाउन सकेन ।

आर्मीका लागि खेलको ७७ र ८५औं मिनटमा नवयुग श्रेष्ठले लगातार दुई गोल गरे । लगतै ८९औं मिनटमा सुदिल राईले चौथो गोल गर्दै आर्मीको रोमाञ्चक जित पक्का गरे ।

खेलमा आर्मीका लागि दुई गोल गरेका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी प्राप्त गरे । यो जितसँगै १० खेलबाट २३ अंक जोडेको आर्मी शिर्ष स्थानमा उक्लिएको छ । एक अंक कम मच्छिन्द्र दोस्रो स्थानमा छ भने पराजित पुलिस १४ अंकका साथ सातौं स्थानमा झरेको छ ।

स्मरणीय छ, लिगतर्फ आइतबार नै भएको अर्को खेलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबलाई १–० ले हरायो । यो जितपछि संकटा १५ अंकका साथ छैटौं स्थानमा छ । उता पराजित शेर्पा भने ७ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ ।

Post Comments