News सातौं राजर्षि जनक कपको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)
गोलनेपाल

बागमती । ‘पर्यटनको प्रवद्र्धन र संस्कृतिको सम्वद्र्धन’ भन्ने मूल नाराका साथ यही माघ २५ गतेदेखि शुरु हुन गईरहेको सातौं राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

आयोजक बागमती युवा क्लब, सर्लाहीले पत्रकार सम्मेलनको आयोजना गरी खेलतालिका सार्वजनिक गर्नुका साथै प्रतियोगिताबारे जानकारी गराएको हो । स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा जावलाखेल युथ क्लब र एपिएफ फुटबल क्लब भिड्ने छन् ।

प्रतियोगितामा नेपालका ए डिभिजन क्लब, मोफसलका क्लब, आयोजक र एक विदेशी टोली गरी कुल १२ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगितामा यसअघि भुटानको लिग च्याम्पियन पारो एफसीले सहभागिता जनाउने भनिए तापनि विविध कारणवश अन्तिम समयमा पारोले उपस्थिति जनाउन नसकेको आयोजकले जानकारी दियो ।

बागमती नगरपालिका खेलकुद विकास समिति, सर्लाही सह–आयोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने आगामी फागुन ७ गतेका दिन हुनेछ ।

प्रतियोगिताको साविक विजेता पिप्ले युवा क्लब, हेटौडा रहेको छ । सर्लाही जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर गोलनेपाल डटकम रहेको छ ।

Post Comments