
नर्सही । सहज जितका साथ राईजिङ्ग स्टार क्लब, भूमही यहाँ जारी तेस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुस्ता–४, नर्सही स्थित स्थानीय खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलमा राईजिङ्गले भरतपुर–२४ एफसी, चितवनलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलमा राईजिङ्गका मोहन थापा मगर म्यान अफ द म्याच घोषित भए । उनलाई खेलका विशिष्ट अतिथी नर्सही गाविसका भूपू प्रधान प्रदिप जंग राणाले पुरस्कृत गरेका थिए ।
प्रतियोगिता अन्तरगत माघ १७ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल अभिषेक चर्च, रजहर र रडस एफसी, चितवनबीच हुने प्रचार प्रसार संयोजक सरोज गुरुङ्गले जानकारी दिए ।
सुस्ता गाउँपालिकाको आयोजना तथा सुस्ता–४ वार्ड कार्यालय नर्सहीको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्ने खेल संयोजक समराज गुरुङ्गले बताए । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने माघ २१ गतेका दिन हुने पनि संयोजक गुरुङ्गले जानकारी दिए ।