News अभिषेक चर्च सुस्ता अध्यक्ष कपको सेमिफाइनलमा
सुरज राना मगर

नर्सही । रोमाञ्चक जितका साथ अभिषेक चर्च, रजहर यहाँ जारी तेस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार भएको चौथो क्वाटरफाइनलमा अभिषेक चर्चले रडस रामपुर एफसी, चितवनलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । अभिषेक चर्चले सेमिफाइनलमा घरेलु टोली सुस्ता–११ सँग प्रतिस्पर्धा गर्नेछ ।

अभिषेक चर्चको जितमा सनी तामाङ र अब्दुलाले गोल गरे । उता पराजित रड्स रामपुरका लागि मनोज तामाङले एक मात्र गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलमा अभिषेक चर्चका सन्दिप सेन्चुरी म्यान अफ द म्याच घोषित भए । उनलाई जरलैया युवा क्लब, सुस्ता–४, नर्सहीका अध्यक्ष एवम् युवा समाजसेवी, खेलप्रेमी चन्द्र बहादुर घलेले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तरगत माघ १८ गते बुधबारको पहिलो सेमिफाइनल खेल न्यु हिउचुली युवा क्लब, बोहिया र राइजिङ्ग स्टार क्लब, भूमहीबीच हुने प्रचार प्रसार संयोजक सरोज गुरुङ्गले जानकारी दिए ।

सुस्ता गाउँपालिकाको आयोजना तथा वार्ड नम्बर ४ को कार्यालय नर्सहीको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ खेल संयोजक समराज गुरुङ्गले बताए ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने यही माघ २१ गतेका दिन हुने पनि संयोजक समराज गुरुङ्गले बताए ।

Post Comments