News आयोजकलाई निराश पार्दै देवदह ब्वाईज सेमिफाइनलमा
सुरज राना मगर

बागधुरा । आयोजक सञ्जिवनी युवा क्लबलाई हराउँदै देवदह ब्वाईज, खैरेनी जारी पाँचौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

शुक्रबार भएको अन्तिम क्वाटरफाइनलमा देवदहले सञ्जिवनीलाई टाईब्रेकरमा ५–४ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । त्यसअघि तिलोत्तमा–१४, बागधुरा, देवीनगर स्थित सञ्जिवनी खेलमैदानमा भएको निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलको शुरुवाततिर जमिर मियाँको गोलबाट अग्रता बनाएको सञ्जिवनीले त्यसलाई जोगाउन सकेन । दोस्रो हाफमा देवदहका लागि निर बहादुर थापाले फ्रिककमार्फत सुन्दर गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । पेनाल्टी शुटआउटमा भने सञ्जिवनी निराश बन्न पुग्यो ।

खेलमा सञ्जिवनीका कप्तान अनुप बुढा मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत माघ २८ गते शनिबारको पहिलो सेमिफाइनल खेल जनज्योति क्लब र डिएमसीबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । प्रतियोगिताको फाइनल खेल फागुन २ गतेका दिन हुनेछ ।

Post Comments