News बिरगंज युनाइटेड क्वाटरफाइनल
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । रोमाञ्चक जितका साथ बिरगंज युनाइटेड जारी स्थानीय तह शहिद स्मृति पाँचौं मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ बिरगंजले न्युरोडटिम (एनआरटी) माथि ३–२ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पिप्ले क्याम्पा रंगशालामा भएको खेलको २४औं मिनटमा दिपेश आले मगरको गोलबाट एनआरटीले खेलमा अग्रता बनाएको थियो । यद्यपि २९औं मिनटमा विवेक चौधरीले बिरगंजका लागि बराबरी गोल फर्काएका थिए ।

त्यस्तै दोस्रो हाफको पाँचौं र २९औं मिनटमा कृपा चौधरीले बिरगंजका लागि लगातार दुई गोल गर्दै टोलीलाई खेलमा ३–१ को स्थितिमा ल्याए । तेस्रो गोल खाएको ६ मिनट लगतै लालनुन जामाले एनआरटीका लागि दोस्रो गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन ।

खेलमा दुई गोल गरेका बिरगंजका कृपा चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । बिरगंजले अब क्वाटरफाइनलमा फागुन ३ गतेका दिन एभनिर एफसी, क्यामरुनसँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत फागुन २ गते मंगलबारको हिमालयन शेर्पा क्लब, काठमाडौं र बागमती युवा क्लब, सर्लाहीबीच हुने आयोजकले जानकारी दियो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।

Post Comments