News सरस्वतीको पोष्टमा मच्छिन्द्रको गोल वर्षा
गोलनेपाल

काठमाडौं । यस सिजनका लागि स्टार खेलाडीहरु अनुबन्ध गर्न महँगो रकम खर्चिएको मच्छिन्द्र क्लब कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको शिर्ष स्थानमा फर्किएको छ ।

बिहीबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा मच्छिन्द्रले रेलिगेशन क्षेत्रमा संघर्ष गरिरहेको सरस्वती युथ क्लबलाई ६-१ को फराकिलो अन्तरले हरायो । खेलको ३९औं मिनटमा रजिन धिमालको कर्नर किकमा देवेन्द्र तामाङले मच्छिन्द्रका लागि पहिलो गोल गरे ।

दोस्रो हाफको ५४औं मिनटमा दिपक राईले त्यो अग्रता दोब्बर पारे । दोस्रो हाफमा थप आक्रमक देखिएको मच्छिन्द्रका लागि लगतै ५९औं मिनटमा बिशाल राई ए ले तेस्रो गोल गरे ।

खेलको ७७औं मिनटमा दिपक राईले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । त्यस्तै खेलको अन्तिमतिर मच्छिन्द्रले नाटकीय रुपमा थप दुई गोल सफल भयो ।

इन्जुरी समयको ९३औं मिनटमा सोमिडे अडिलेजाले मच्छिन्द्रका लागि पाँचौं गोल गर्दा त्यसको एक मिनट लगतै आन्द्रेस नियाले छैटौं गोल गर्दै टोलीको फराकिलो जित पक्का गरे । उता पराजित सरस्वतीका लागि उक मात्र गोल काजिमले ८६औं मिनटमा गरेका थिए ।

यो जितसँगै ११ खेलबाट २५ अंक जोडेको मच्छिन्द्र शिर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको आर्मीको २३ अंक छ र आर्मीले एक खेल कम खेलेको छ । उता पराजित सरस्वती भने ४ अंकका साथ पुछारमा छ ।

 

 

Post Comments