
स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान्स कप फुटबलको सेमिफाइनल समिकरण पुरा भएको छ । आज सोमबार चार टोली सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो खेलमा बर्दघाट भेट्रान्स नवलपरासीले आयोजक चितवन भेट्रान्स निलोलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा बर्दघाट टाईब्रेकरमा विजयी भयो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको आठौं मिनेटमा तोपबहादुर महतोको गोलबाट बर्दघाटले अग्रता लिएको थियो । खेलको अन्तिम मिनेटमा रमेश थापाले चितवन निलोका लागि बराबरी गोल फर्काए । निर्धारित समयमा बराबरी भएपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा बर्दघाट ४–३ ले विजयी भयो । बर्दघाटका गोलरक्षक बिष्णुप्रसाद पौडेल म्यान अद दि म्याच भए ।
आजकै दोस्रो खेलमा फ्रिडम फाइटर ठमेलले कलकत्ता भेट्रान्स भारतविरुद्ध ४–० को सहज जित निकाल्यो । ठमेलको जितमा विकर्ण श्रेष्ठ र कन्यसुब्बु गुरुङले समान दुई–दुई गोल गरे । खेलको आठौं मिनेटमा विकर्णले गोल गर्दै ठमेललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १९ औं मिनेटमा विकर्णले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । लगत्तै २० औं मिनेटमा कन्यले गोल गरेपछि ठमेलले ३–०को अग्रता लियो । खेलको अतिरिक्त समयमा कन्यले व्यक्तिगत दोस्रो गोल गरेपछि ठमेलले ४–० को सहज जित हात पा¥यो । उनी नै म्यान अफ दि म्याच चुनिए ।
तेस्रो खेलमा एक्स महेन्द्र पुलिस क्लबले चाबहिल भेट्रान्सविरुद्ध बाजी मा¥यो । प्रतिस्पर्धात्मक खेलमा पुलिस टाईब्रेकरमा विजयी भयो । दोस्रो हाफको चौथो मिनेटमा विजय श्रेष्ठले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर १२ औं मिनेटमा जगत लामाले चाबहिलका लागि बराबरी गोल फर्काए । निर्धारित समयमा १ –१ गोल भएपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा पुलिस ५-३ ले विजयी भयो । पुलिसका विजय म्यान अफ दि म्याच घोषित भए ।
चौथो तथा अन्तिम खेलमा थापा गाउँ सुधार समिति भेट्रान्सले आयोजक चितवन भेटेरान रातोलाई निराश बनायो । निर्धारित समय गोलरहित बराबारीमा टुङ्गिएपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा थापा गाउँलाई ३–२ ले विजयी भयो । थापा गाउँका गोलरक्षक दीपक डंगोलले चितवनको तीन प्रहार विफल बनाए । उनी नै म्यान अफ दि म्याच चुनिए । प्रतियोगितामा बुधवार सेमिफाइनल चरणको खेलहरु हुनेछन् ।
पहिलो सेमिफाइनलमा बर्दघाट भेट्रान्स नवलपरासी र साविक विजेता फ्रिडम फाइटर ठमेल भिड्नेछन् । खेल दिउँसो २ बजे हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा दिउँसो ३ः३० बजे एक्स महेन्द्र पुलिस क्लब र थापा गाउँ सुधार समिति भिड्नेछन् । चितवन भेट्रान्स क्लबको आयोजना तथा नारायणगढ लेडी जेसिजको सह आयोजनामा सुरु भएको प्रतियोगिता फागुन ४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछ।