News एपिएफलाई सातौं सुर्यनगर गोल्डकपको उपाधि
गोलनेपाल

सुर्यनगर । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले आइतबार सम्पन्न सातौं सुर्यनगर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा बागमती युवा क्लब, सर्लाहीलाई टाईब्रेकरमा ३–१ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।

त्यसअघि सुर्यनगर रंगशालामा भएको निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । खेलको २९औं मिनटमा कुमार डोङ्गको गोलबाट अग्रता बनाएको एपिएफले ४१औं मिनटमा विपन श्रेष्ठको गोलबाट त्यो अग्रता दोब्बर पारेको थियो ।

यद्यपि बागमतीले खेलमा उत्कृष्ट पूनःरागमन गर्यो । दोस्रो हाफको २९औं मिनटमा देवा गुरुङ्गले बागमतीका लागि पहिलो गोल फर्काए भने ८०औं मिनटमा बिजय घलानले दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा एपिएफका लागि सुमन श्रेष्ठ, बिपन श्रेष्ठ र घनश्याम थारुले गोल गरे । उता बागमतीका लागि भने देवा गुरुङ्गले मात्र गोल गर्न सके । राज भुषाल र अशोक स्याङ्गतनको प्रहार एपिएफका गोलरक्षक रवी थापाले जोगाएका थिए ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आयोजक नव युवा क्लबका अनुप बाह्रघरे मगर घोषित भए । उनले त्यसवापत नगद १० हजार सहित ट्रफी हात पारे । एपिएफका रवी थापा उत्कृष्ट गोलरक्षक चुनिए भने बागमतीका आयुष राना उत्कृष्ट डिफेन्डर घोषित भए ।

उत्कृष्ट मिडफिल्डर पनि बागमती कै देवा गुरुङ्ग बन्दा उत्कृष्ट प्रशिक्षक एपिएफका सुदन भण्डारी घोषित भए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार प्रतियोगिताभरि कुल ३ गोल गरेका एपिएफका कुमार दोङले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।

नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगरको आयोजनामा गत माघ २५ गतेदेखि शुरु प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments