News ए डिभिजन लिगमा मनाङको पहिलो जित
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको सफलतम क्लब मध्ये एक मनाङ मस्र्याङ्दी क्लबले बुधबार पहिलो जित हात पारेको छ । आफ्नो पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाँडेको मनाङले बुधबार बलियो संकटालाई १–० ले हरायो ।

दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफतर्फ ५३औं मिनटमा शैदझामोल दवरातझोनोवले गरेको एक मात्र गोल मनाङलाई महत्वपूर्ण जित र तीन अंक दिलाउन निर्णायक बन्यो ।

सातदोबाटोको लगातार दोस्रो जित, शेर्पा पनि सफल

त्यस्तै बुधबार नै भएको अर्को खेलमा सातदोबाटो युथ क्लबले लगातार दोस्रो जित हात पार्यो । पहिलो खेलमा न्युरोडटिम (एनआरटी) लाई हराएको सातदोबाटोले बुधबार नेपाल एपिएफ क्लबमाथि १–० को साँघुरो अन्तरको जित निकाल्यो ।

च्यासल स्टेडियममा भएको खेलको ५५औं मिनटमा विलियम ओपोकुले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

त्यस्तै दशरथ रंगशाला मै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबमाथि समान १–० को जित निकाल्यो । खेलको इन्जुरी समयमा अमृत श्रेष्ठले एक मात्र निर्णायक गोल गरे । खेलमा शेर्पाले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । निशान लिम्बुले पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा शेर्पाले गोल भिन्नता दोब्बर पार्न असफल भयो ।

लिग अन्तरगत फागुन २५ गते बिहीबार दुई खेलहरु हुनेछन् । दिनको २ः३० बजेदेखि एन्फा कम्प्लेक्समा शुरु हुने खेलमा खुमलटार एफसीले जावलाखेल युथ क्लबको सामना गर्नेछ भने सोही समयमा च्यासल स्टेडियममा हुने खेलमा दुई हेभिवेट टोली त्रिभुवन आर्मी फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब भिड्ने छन् ।

Post Comments