
नयाँवस्ती । उत्कृष्ट जित हात पार्दै टाईगर चोक युवा क्लब जारी तेस्रो भरतपुर–२४ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ टाईगर चोकले गडौली फुटबल एकेडेमीलाई ४–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । टाईगर चोकको जितमा कृपा चौधरीले दुई गोल गरे । त्यस्तै लिला गुरुङ्ग र आयुष तामाङ्गले थप एक–एक गोल गरे । उता पराजित गडौलीका लागि सुनिल गोलेले एक मात्र सान्त्वना गोल फर्काए ।
खेलमा दुई गोल गरेका टाईगर चोकका कृपा चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत ४ गते शनिबारको खेल रडस रामपुर र अभिषेक चर्च बीच हुने आयोजकले जानकारी दियो ।
भरतपुर–२४ युवा तथा खेलकुद विकास समिति, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत ११ गतेका दिन हुनेछ ।