News 'रेकर्ड ब्रेकर' साहुखल थ्रीस्टार मै फर्किए
गोलनेपाल

काठमाडौं । नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा चर्चित फरवार्ड सन्तोष साहुखल सात वर्षपछि आफ्नो पुरानै क्लब थ्रीस्टारमा फर्किएका छन् । केही वर्ष यतादेखि जापानमा रहेर त्यहाँ पनि फुटबललाई निरन्तरता दिईरहेका सन्तोषलाई अनुवन्ध गरेको कुरा थ्रीस्टार क्लबले पनि आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

ए डिभिजन लिगमा १०० गोल पूरा गर्ने पहिलो र एक्लो खेलाडी सन्तोष नेपाली फुटबलका सफलतमक फरवार्ड मध्ये एकमा गनिन्छन् । थ्रीस्टार क्लबबाटै आफ्नो व्यवसायीक फुटबल करियर शुरु गरेका सन्तोषले त्यसपछि एपिएफ, मनाङ मस्र्याङ्दी क्लब हुँदै च्यासल युथ क्लबबाट पनि खेले ।

कुनै समय नेपाली फुटबलका सर्वाधिक महँगा र स्टार फरवार्ड बनेका सन्तोषले फेरि थ्रीस्टारलाई नयाँ उचाईंमा पुर्याउने विश्वास बोकेका छन् । सन्तोषले २०६९ सालमा थ्रीस्टार कै लागि खेल्दै ए डिभिजन लिग पनि जितेका थिए ।

थ्रीस्टारले यसअघि क्लब कै पूर्व चर्चित डिफेन्डर बिराज महर्जनलाई पनि अनुवन्ध गरिसकेको छ । स्मरण रहोस, थ्रीस्टारले सिजनको पहिलो उपाधिका रुपमा भर्र्खरै धनगढीमा सम्पन्न प्रतिष्ठित खप्तड गोल्डकपको उपाधि जितेको थियो । लिगमा पनि थ्रीस्टारलाई सुस्त शुरुवात गर्दै अहिले सुधारात्मक प्रदर्शनतर्फ अग्रसर छ ।

Post Comments