News लिगमा पुलिसलाई राहत
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा यस सिजन खराब लयबाट गुज्रिरहेको विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ । सोमबार एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले अर्को संघर्षरत टोली फ्रेण्डस क्लबमाथि ३–१ को जित निकाल्यो ।

केही दिन अघि मात्र विदेशी खेलाडीलाई अनुवन्ध गरेर आत्मविश्वासी बनेको पुलिसले पहिलो जित दर्ता गर्न सफल भएको हो । पुलिसका लागि ५०औं मिनटमा मोसेस टुमले पहिलो गोल गरे । त्यसको आठ मिनट लगतै बुद्धबल तामाङले पुलिसको त्यो अग्रता दोब्बर पारे ।

उता फ्रेण्डसका लागि ८७औं मिनटमा टोरिक जेबरिनले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि सफल भएनन् । खेलको ९०औं मिनटमा बुद्धबल तामाङले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पुलिसको पहिलो जित पक्का गरे ।

यो जितपछि ७ खेलबाट ४ अंक जोडेको पुलिस लिगतालिकाको १३औं स्थानमा उक्लेको छ । यद्यपि रेलिगेशन क्षेत्र मै संघर्षरत छ । पराजित फ्रेण्डसको पनि समान ४ अंक भए तापनि गोल भिन्नताका आधारमा पछि पर्दै पुछारमा छ ।

सोमबार नै दशरथ रंगशालामा भएको अर्को खेलमा चर्च ब्वाईज युनाइटेड क्लब र एपिएफ फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि ७ खेलबाट १३ अंक जोडेको चर्च ब्वाईज तेस्रो स्थानमा छ । उता एपिएफ भने ११ अंकका साथ पाँचौं स्थानमा छ ।

 

Post Comments