News लयमा फर्किएको मच्छिन्द्र
गोलनेपाल

काठमाडौं । शुरुवाती चरणका खेलहरुमा सुस्त प्रदर्शन गरेको साविक विजेता मच्छिन्द्र फुटबल क्लब शहिद स्मारक ए डिभिजन लिगतर्फ लयमा फर्किएको छ । मंगलबार लिगमा तेस्रो जित दर्ता गर्ने क्रममा मच्छिन्द्रले खुमलटारमाथि ७–३ को प्रभावशाली जित दिर्ता गर्यो ।

च्यासल स्टेडियममा भएको सो खेलमा मच्छिन्द्रका लागि ओलावाले आफिजले ह्याट्रिकसहित पाँच गोल गरे । उनले खेलको २४, २८ र ५५औं मिनटमा गरी ह्याट्रिक गरेका थिए भने ६२ र ६६औं मिनटमा थप दुई गोल गरेका थिए । उनले ह्याट्रिक गरेको गोल भने पेनाल्टीमार्फत भएको थियो । त्यस्तै मच्छिन्द्रका लागि थप दुई गोल पहिलो हाफ कै अतिरिक्त समयमा बिमल घर्ती मगर र ८६औं मिनटमा बिजय भुजेलले गरेका थिए ।

उता पराजित खुमलटारका लागि मेसुके ओलुमुले खेलको ६१ र ८०औं मिनटमा गरी दुई गोल गरे भने स्टेफन बिनङ्गले ७५औं मिनटमा पेनाल्टीमार्फत थप एक गोल गरेका थिए । यद्यपि खुमलटार हारबाट भने जोगिन सकेन ।

लगातार दोस्रो जित हात पारेपछि ८ खेलबाट १२ अंक जोडेको मच्छिन्द्र छैठौं स्थानमा उक्लेको छ । पराजित खुमलटार भने ७ अंकका साथ दशौं स्थानमा छ ।

Post Comments