News आर्मीको पनि प्रभावशाली जित
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ मंगलबार एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल युथ क्लबमाथि ३–१ को प्रभावशाली जित हात पारेको छ । खेलको १६औं मिनट मै जिलेस्पी जंग कार्कीको गोलबाट आर्मीले खेलमा गोलको खाता खोलेको थियो ।

पहिलो हाफसम्म आर्मीले १–० कै अग्रता कायम पनि राख्यो । दोस्रो हाफको ५४औं मिनटमा नवयुग श्रेष्ठले आर्मीका लागि दोस्रो गोल गरे । यद्यपि त्यसको केही क्षण लगतै ६१औं मिनटमा जावलाखेलका लागि सुनिल खड्काले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तर सफल भएनन् । ७९औं मिनटमा सुदिल राईले आर्मीका लागि तेस्रो गोल थप्दै विभागीय टोलीको प्रभावशाली जित पक्का गरेका थिए ।

यो जितपछि ८ खेलबाट १२ अंक जोडेको आर्मी लिगतालिकाको पाँचौं स्थानमा छ । मच्छिन्द्रको पनि समान १२ अंक भए तापनि गोलभिन्नताका आधारमा आर्मी भन्दा पछि परेको छ । त्यस्तै उता आर्मीसँग पराजित जावलाखेल भने १४ अंकका साथ अझै लिगतालिकाको दोस्रो स्थानमा छ ।

Post Comments