News संकटा र शेर्पाको रोमाञ्चक जित
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबार भएका अन्य दुई खेलहरुमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले आ–आफ्नो खेलमा रोमाचक जित हात पारेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा संकटाले न्युरोडटिम (एनआरटी) लाई २–१ ले हरायो । खेलको २२औं मिनटमा जुनियर एनकेन्गुको गोलबाट संकटाले खेलमा अग्रता बनाएको थियो । ३७औं मिनटमा मनिष डाँगीले त्यो अग्रता दोब्बर पारे । जुन खेलको निर्णायक गोल पनि बन्यो ।

उता एनआरटीका लागि दोस्रो हाफतर्फ ६२औं मिनटमा सर्जे संगले एक गोल फर्काउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि सफल भएनन् ।

यो जितपछि ८ खेलबाट १२ अंक जोडेको संकटा लिगतालिकाको छैठौं स्थानमा छ । समान अंक भए तापनि साविक विजेता मच्छिन्द्र गोलभिन्नताले पछि पर्दै सातौं स्थानमा खस्केको छ । उता संकटासँग पराजित एनआरटी भने ६ अंकका साथ १२औं स्थानमा छ ।

त्यसैगरी च्यासल स्टेडियममा भएको अर्को खेलमा शेर्पाले एपिएफ क्लबमाथि ५–३ को जित निकाल्यो । खेलको आठौं मिनट मै सुदिप श्रेष्ठको गोलबाट शेर्पाले खेलमा अग्रता बनाएको थियो । २४ र २८औं मिनटमा सत्यम शर्माले लगाता दुई गोल गर्दै शेर्पाको अग्रता तेब्बर पारे ।

रोमाञ्चक खेलको पहिलो हाफतर्फ इन्जुरी समयमा अर्माण्ड बिडुमले एपिएफका लागि पहिलो गोल फर्काए । ४६औं मिनटमा सनिस श्रेष्ठ र ६३औं मिनटमा प्रदिप लामाले एपिएफका लागि लगातार दुई गोल गर्दै खेललाई ३–३ को स्थितिमा ल्याए । तर पनि एपिएफले हार भने टार्न सकेन ।

७४औं मिनटमा शेर्पाका लागि अबायोमी फाकुन्लेले चौथो गोल थपे भने ८९औं मिनटमा विश्वास श्रेष्ठले पेनाल्टीबाट पाँचौं गोल गर्दै शेर्पाको जित पक्का गरे ।

यो जितपछि ८ खेलबाट ९ अंक जोडेको शेर्पा दशौं स्थानमा छ भने पराजित एपिएफ ११ अंकका साथ शेर्पाभन्दा एक स्थान माथि नवौं स्थानमा छ ।

Post Comments