
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबार लिगलिडर जावलाखेल युथ क्लबले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ६–१ को फराकिलो जित हात पारेको छ ।
च्यासल स्टेडियममा भएको खेलको २९औं मिनटमा फोडे फोफनाको गोलबाट जावलाखेलले खेलमा शुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफसम्म १–० को अग्रता कायम राखेको जावलाखेलले दोस्रो हाफमा भने पाँच गोल थप्यो ।
५०औं मिनटमा हिसुब थपलियाले जावलाखेलका लागि दोस्रो गोल थपे । ६५औं मिनटमा एन्कोटो मासोबीले जावलाखेलका लागि तेस्रो गोल गरे । ८१औं मिनटमा मासोबीले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दा त्यसको तीन मिनट लगतै हिसुब थपलियाले पाँचौं गोल थपेका थिए ।
उता ८८औं मिनटमा मोसेस टुमले पुलिसका लागि एक गोल फर्काए तर पनि जावलाखेल पूर्ण हावी बन्यो । इन्जुरी समयमा अब्दुलाजिजले जावलाखेलका लागि छैठौं गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।
यो नतिजापछि १० खेलबाट २० अंक जोडेको जावलाखेल शिर्ष स्थान मै यथावत छ । उता पराजित पुलिस भने ५ अंकका पुछार मै संघर्षरत छ । यो हारले पुलिसमाथि भने थप दबाब पनि थपिएको छ ।
एपिएफसँग मच्छिन्द्र स्तब्ध
त्यसैगरी बुधबार नै दशरथ रंगशालामा भएको खेलमा अर्को विभागीय टोली एपिएफले साविक विजेता मच्छिन्द्र फुटबल क्लबमाथि १–० को साँघुरो र महत्वपूर्ण जित हात पार्यो । खेलको ३९औं मिनटमा अर्माण्ड बिडुमले गरेको एक मात्र गोल एपिएफलाई तीन अंक दिलाउन निर्णायक बन्यो ।
सिजनको तेस्रो हार बेहोरेको मच्छिन्द्रलाई लिग उपाधि जोगाउने यात्रामा भने नराम्रो धक्का लागेको छ ।