News एनआरटीको तेस्रो जित, विभागीय भिडन्तमा आर्मी रोकियो
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ लयमा फर्किएको न्युरोडटिम (एनआरटी) ले सिजनको तेस्रो जित हात पारेको छ । च्यासल स्टेडियममा भएको खेलमा एनआरटीले विभागीय टोली एपिएफ फुटबल क्लबमाथि १–० को साँघुरो जित निकाल्यो ।

एनआरटीका लागि सञ्जिव बिष्टले गरेको एक मात्र गोल निर्णायक बन्यो । यो जितपछि ११ खेलबाट १३ अंक जोडेको एनआरटी लिगतालिकाको १०औं स्थानमा छ । पराजित एपिएफ भने हारका बावजुद १४ अंकका साथ आठौं स्थानमा छ ।

शुक्रबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा दावेदार त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली तथा यस सिजन खराब लयमा रहेको नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बन्यो । यो बराबरीले आर्मीको शिर्ष तीनको दावेदारितामा पनि धक्का लाग्न पुग्यो ।

यो नतिजापछि ११ खेलबाट १६ अंक जोडेको आर्मी पाँचौं स्थानमा छ । उता पुलिस भने ६ अंकका साथ पुछार मै रहेर रेलिगेशन क्षेत्रबाट जोगिन संघर्षरत छ ।

Post Comments