News मच्छिन्द्रको जितमा चेन्चोको 'डेब्यु' गोल, मनाङ स्तब्ध
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ साविक विजेता मच्छिन्द्र फुटबल क्लबले महत्वपूर्ण जित हात पार्दा अर्को दावेदार टोली मनाङ मस्र्याङ्दी क्लब भने पराजित हुन पुगेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले फ्रेण्डस क्लबमाथि २–१ को रोमाञ्चक जित हात पार्यो । मच्छिन्द्रका लागि ४५औं मिनटमा चेन्चो ग्याल्सेनले पहिलो गोल गरे । क्लबका लागि भुटानी स्टारको यो डेब्यु गोल समेत थियो ।

त्यस्तै ६२औं मिनटमा देवेन्द्र तामाङले मच्छिन्द्रका लागि दोस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बन्यो । उता फ्रेण्डसका लागि ७५औं मिनटमा रफिक अमिनुले एक गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

खुमलटारसँग मनाङ निराश

दशरथ रंगशालामा भएको अर्को खेलमा नवप्रवेशी टोली एफसी खुमलटारले लिगको सफलतम क्लब मध्ये एक मनाङ मस्र्याङ्दी क्लबमाथि समान २–१ को जित निकाल्यो । जारी लिगमा मनाङको यो चौथो हो भने खुमलटारको चौथो जित समेत हो ।

खुमलटारको जितमा मेसुके ओलुमुनायक रहे । दुवै गोल उनकै नाममा रह्यो । १३औं मिनटमा मेसुकेले खुमलटारका लागि पहिलो गोल गरे । यद्यपि दोस्रो हाफको ५३औं मिनटमा टिमोथी कुडुले पेनाल्टीमार्फत मनाङका लागि बराबरी गोल फर्काए ।

तर पनि मनाङले हार भने टार्न सकेन । खेलको अन्तिमतिर इन्जुरी समयमा मेसुकेले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै खुमलटारको सनसनीपूर्ण जित पक्का गरेका थिए ।

Post Comments