News पुलिससँग मनाङ स्तब्ध, फ्रेण्डसको चौथो जित
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ शुरुवाती चरणमा राम्रै प्रदर्शन गरेको मनाङ मस्र्याङ्दी क्लबले मंगलबार लगातार पाँचौं हार बेहोरेको छ । त्यो पनि रेलिगेशन क्षेत्रमा संघर्षरत टोली नेपाल पुलिस क्लबको हातबाट ।

एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले मनाङमाथि १–० को महत्वपूर्ण जित हात पार्यो । खेलको छैठौं मिनटमा मुहम्मद आसिकले गरेको एक मात्र गोल पुलिसलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो ।

लिगमा पुलिसको यो दोस्रो जित थियो भने मनाङको लगातार पाँचौं हार । यो नतिजापछि १२ खेलमा ९ अंक जोडेको पुलिस लिगतालिकाको पुछार मै संघर्षरत छ । त्यस्तै १५ अंक जोडेको मनाङ भने लिगतालिकाको आठौं स्थान मै यथावत छ ।

एनआरटीमाथि फ्रेण्डसको प्रभावशाली जित

त्यसैगरी दशरथ रंगशालामा भएको अर्को खेलमा फ्रेण्डसले न्युरोडटिम (एनआरटी) माथि ३–१ को जित निकाल्यो । फ्रेण्डसको यो सिजनको चौथो जित समेत हो । फ्रेण्डसका लागि खेलको १४औं मिनटमा रफिक अमिनुले पहिलो गोल गरे ।

यद्यपि ४०औं मिनटमा सञ्जिव विष्टले एनआरटीका लागि बराबरी गोल फर्काए । तर फ्रेण्डसलाई फेरि खेलमा अग्रता बनाउन धेरैबेर लागेन । पहिलो हाफ कै अतिरिक्त समयमा टोरिक जेब्रिनले दोस्रो गोल थपे । त्यस्तै ७५औं मिनटमा कप्तान प्रकाश बुढाथोकीले तेस्रो गोल गर्दै फ्रेण्डसको जित पक्का गरे ।

 

Post Comments