News सातदोबाटोसँग निरीह बन्यो संकटा, थ्रीस्टार र मच्छिन्द्रको बराबरी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबार भएका शुरुवाती दुई खेलहरुमा मिश्रित नतिजा निस्किएका छन् । च्यासल स्टेडियममा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले बलियो प्रतिद्वन्द्वी संकटा क्लबमाथि ४–० को उत्कृष्ट जित निकाल्यो ।

लिगको छैठौं जित हात पार्ने क्रममा सातदोबाटोका लागि खेलको १० र १८औं मिनटमा विलियम असिदेउले दुई गोल गरे भने ६७ र ८२औं मिनटमा दिपकराज सिंह ठकुरीले थप दुई गोल थपे । यो जितसँगै १२ खेलबाट २१ अंक जोडेको सातदोबाटोले शिर्ष तीनमा आफ्नो पकड बनाएको छ । पराजित संकटा भने १५ अंकका साथ नवौं स्थानमा छ ।

त्यस्तै बुधबार दशरथ रंगशालामा भएको अर्को खेलमा थ्रीस्टार क्लब र मच्छिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि १२ खेलबाट २२ अंक जोडेको थ्रीस्टार दोस्रो स्थानमा छ र शिर्ष स्थानमा उक्लिने अवसरबाट चुकेको छ । एक खेल कम खेलेको जावलाखेल २३ अंकका साथ शिर्ष स्थानमा छ । उता मच्छिन्द्र भने १७ अंकका साथ सातौं स्थानमा छ ।

Post Comments