News आर्मी विरुद्ध मनाङलाई साख जोगाउने चुनौति, सातदोबाटोलाई शिर्ष स्थानमा उक्लिने अवसर
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबार तीन महत्वपूर्ण खेलहरु हुँदैछन् । जसअन्तरगत दशरथ रंगशालामा बेलुका ६ बजेदेखि शुरु हुने खेलमा दुई बलिया टोली त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्दै छन् ।

लगातार ६ खेलमा हार बेहोरेको मनाङलाई आज बलियो प्रतिन्द्वी आर्मी विरुद्ध साख जोगाउने चुनौति हुनेछ भने लिगतालिकामा स्थान सुधार गर्नुपर्ने लक्ष्य पनि हुनेछ । हाल १३ खेलबाट १५ अंकका साथ मनाङ लिगतालिकाको १०औं स्थानमा छ । उता २० अंकका साथ पाँचौं स्थानमा रहेको आर्मीले आज जित हात पार्न सके शिर्ष तीनको होडमा आफ्नो उपस्थितिलाई बलियो बनाउन सफल हुनेछ ।

त्यसैगरी लिग अन्तरगत च्यासल स्टेडियममा दिनको ३ बजेदेखि शुरु हुने खेलमा सातदोबाटो युथ क्लब र हिमालयशन शेर्पा क्लब भिड्दै छन् । २२ अंकका साथ तेस्रो स्थानमा रहेको सातदोबाटोले जित हात पार्न सके आज लिगतालिकाको शिर्ष स्थानमा उक्लिने अवसर छ । उता १४ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थानमाथि संघर्ष गरिरहेको शेर्पाले पनि आफु अनुकुल नतिजा निकाले लिगतालिकामा स्थान सुधार गर्ने निश्चित छ ।

त्यस्तै दशरथ रंगशालामा ३ बजेदेखि शुरु हुने अर्को खेलमा चर्च ब्वाईज युनाइटेड र फ्रेण्डस क्लब पनि भिड्दै छन् । २१ अंकका साथ चौथो स्थानमा रहेको चर्च ब्वाईजसँग पनि शिर्ष तीनको होड कायम राख्ने अवसर छ । उता १५ अंकका साथ ११औं स्थानमा रहेको फ्रेण्डस आज आफु अनुकुल नतिजा निकाल्दै शिर्ष दश भित्र पर्न प्रयासरत रहनेछ ।

Post Comments