News अन्ततः मनाङलाई सफलता
गोलनेपाल

काठमाडौं । लगातार ६ खेलमा हार बेहोर्दै खराब लयमा देखिएको मनाङ मस्र्याङ्दी क्लबले शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबार आफ्नो १४औं खेलमा सफलता हासिल गर्न सफल भएको छ । दशरथ रंगशालामा भएको महत्वपूर्ण खेलमा मनाङले बलियो प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब विरुद्ध १–० को जित निकाल्यो ।

प्रतिस्पर्धात्मक खेलको अन्तिमतिर इन्जुरी समयमा टिमोथी कुडुले गरेको एक मात्र गोल मनाङको हारको सिलसिला रोक्नुका साथै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाउन पनि निर्णायक बन्यो । यो नतिजापछि १४ खेलबाट १८ अंक जोडेको मनाङ छैठौं स्थानमा उक्लेको छ । पराजित आर्मी भने २० अंकका साथ मनाङ भन्दा एक स्थानमाथि पाँचौं स्थानमा छ ।

बुधबार नै फ्रेण्डस क्लबमाथि २–१ को जित निकालेको चर्च ब्वाईज युनाइटेड २४ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । र लिगलिडर जावलाखेलसँग अंक बराबरी गरे तापनि गोलभिन्नताले पछि परेको छ । त्यस्तै पराजित फ्रेण्डस भने १५ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा खस्केको छ ।

त्यस्तै बुधबार नै सातदोबाटो युथ क्लबमाथि १–० को जित निकालेको हिमालयन शेर्पा क्ल्ब १७ अंकका साथ नवौं स्थानमा छ भने पराजित सातदोबाटो २२ अंकका साथ चौथो स्थानमा झरेको छ ।

 

Post Comments