News दोस्रो चिल्ड्रेन लाईफ फुटबलको सेमिफाइनल समिकरण पूरा
गोलनेपाल

बागलुङ । यहाँ जारी दोस्रो चिल्ड्रेन लाईफ अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

जसअन्तरगत चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ्ग स्कुल (सेतो), न्यू एभरेष्ट एकेडेमी, अमर आदर्श मावि र चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ्ग बोर्डिङ स्कुल (रातो) आ–आफ्नो खेलमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् ।

बिहीबारको पहिलो क्वाटरफाइनल खेलमा चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ्ग स्कुल (सेतो)ले गणेश माध्यमिक विद्यालयलाई ४–० ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । विजेयी टोलीका लागि राजिव श्रीस, अजय पुन, मनोज थापा र अविशेक सिर्पालीले गोल गरेका थिए ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा न्यू एभरेष्ट एकेडेमीले न्यू ओयसिस एकेडेमीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ न्यू एभरेष्टका लागि सागर थापा र विवस रानाले गोल गरेका थिए भने न्यू ओयसिसको लागि दुवै गोल निशान क्षेत्रीले गरेका थिए । पेनाल्टीमा न्यू एभरेष्टका रोहित तामाङ, प्रमोद विसी, रोहन भण्डारी र विवस रानाले गोल गरेका थिए । उता न्यू ओयसिसको लागि अनुरोध थापा र निसान क्षेत्रीले मात्र बललाई गोलपोष्टको जाली चुमाउन सके ।

त्यसैगरी तेस्रो क्वाटरफाइनल खेलमा विपिन महतको चार गोलको सहयोगमा अमर आदर्श माविले भीमसेन माविलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो । अमर आदर्शका लागि विपिन मतले चार गोल गर्दा सुमन थापाले थप एक गोल गरेका थिए ।

त्यस्तै चौथो क्वाटरफाइनलमा आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ्ग बोर्डिङ स्कुल (रातो)ले गरिमा आवासिय मावि (डिग्नीटी)लाई टाइब्रेकरमा ३–२ गोलअन्तरले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ को बराबरी खेलेका थिए ।

नियमित समयतर्फ गरिमाका लागि अनिस रुचालले गोल गरे भने चिल्ड्रेन लाईफका प्रमिश सुवेदीले गोल गरेका थिए । पेनाल्टी सुटआउटमा चिल्ड्रेन लाईफका सुिशल राजभण्डारीको प्रहार बाहिरिएको थियो भने प्रमिश सुवेदी, विवेक गुरुङ र पवन पुनले गोल गरेका थिए । उता गरिमाको लागि अनिश रुचाल र आर्यन थापाले गोल गरे भने विजय केसी, सागर विके र सरोज खत्रीको प्रहार चिल्ड्रेनका गोलकिपर दिवस सापकोटाले जोगाएका थिए ।

प्रतियोगिता अन्तरगत शुक्रबार सेमिफाइनलका खेलहरु हुनेछन् । शुक्रबार पहिलो सेमिफाइनल खेल लाईफ इङ्गलिस बोर्डिङ्ग स्कुल (सेतो) र न्यू एभरेष्ट एकेडेमी बीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल अमर आदर्श मावि र लाईफ इङ्गलिस बोर्डिङ्ग स्कुल रातो)का विच हुने खेल संयोजक दिपक थापाले जानकारी दिए ।

चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलको आयोजना र चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको सहआयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ ।

 

Post Comments