News शिर्ष स्थानमा उक्लियो चर्च ब्वाईज, विभागीय भिडन्तमा आर्मी स्तब्ध
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबार भएका दुई खेलहरु मध्ये एकमा रोमाञ्चक जित निकाल्दै चर्च ब्वाईज युनाइटेड क्लब लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाईजले साविक विजेता मच्छिन्द्र फुटबल क्लबमाथि २–१ को जित निकाल्यो ।

मच्छिन्द्रका लागि दोस्रो हाफको आत्मघाती गोल महँगो साबित बन्यो । खेलमा शुरुवाती अग्रता चर्च ब्वाईजले लिएको थियो । खेलको ४१औं मिनटमा अन्जन बिष्टको गोलबाट चर्च ब्वाईजले गोलको खाता खोलेको थियो । चर्च ब्वाईजले त्यो अग्रता पहिलो हाफसम्म कायम पनि राख्यो ।

तर दोस्रो हाफमा मच्छिन्द्रले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ६५औं मिनटमा ओमोलजा करिबले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए । खेल १–१ को बराबरीमा रहेकै बेला ७१औं मिनटमा मच्छिन्द्रका प्रदिप भण्डारीले आत्मघाती गोल गर्दा चर्च ब्वाईजले रोमाञ्चक जित जिर्ता गर्न सफल भएको थियो ।

यो नतिजापछि १६ खेलबाट ३० अंक जोडेको चर्च ब्वाईज शिर्ष स्थानमा उक्लेको छ र लिगतालिकामा तीन अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको जावलाखेलको २७ अंक छ । त्यस्तै पराजित मच्छिन्द्र भने २४ अंकका साथ चौथो स्थानमा छ ।

एपिएफसँग आर्मी निराश

त्यस्तै बुधबार नै दशरथ रंगशालामा भएको विभागीय भिडन्तमा एपिएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबमाथि ३–० को प्रभावशाली जित हात पारेको छ । खेलको ४१औं मिनटमा अर्मान्ड बिडुमको गोलबाट एपिएफले खेलमा अग्रता बनाएको थियो । त्यो अग्रता एपिएफले पहिलो हाफसम्म कायम पनि राख्यो भने दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

५५औं मिनटमा आवाश लामिछानेले एपिएफका लागि दोस्रो गोल थपे । त्यसको ६ मिनट लगतै नविन लामाले तेस्रो गोल गर्दै एपिएफको प्रभावशाली जित सुनिश्चित गरे ।

यो जितपछि १६ खेलबाट २२ अंक जोडेको एपिएफ लिगतालिकाको छैठौं स्थानमा उक्लेको छ । पराजित आर्मी भने २१ अंकका साथ सातौं स्थानमा छ ।

Post Comments