News झापाः बराह ११ न्यू स्टार गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

पाहुना टोली डिएसएलाई पराजित गर्दै सुनसरीको बराह ११ यहाँ जारी तेस्रो न्यू स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा सुनसरीले कठिन जित निकालेको हो ।

पहिलो हाफ गोलरहित खेलेको दुवै टोलीले दोस्रो हाफमा केही आक्रामक खेल प्रस्तुत गरेको थियो । ८० मिनेटको निर्धारित समयको अन्तिम दुई मिनेट बाँकी रहँदा सुनसरीले बाजी मारेको हो । भुटानको पेनाल्टी एरियामा पाएको क्रसमा सुनसरीका सन्दिप श्रेष्ठले गोल गर्न सफल भए । खेलको ७८औँ मिनेटमा उनले हेडरमार्फत गोल गरेका हुन् । उनको गोल नै निर्णायक बन्यो । उनी खेलको म्यान अफ दी म्याच पनि बने ।

उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले 'मामा' र आयोजक न्यू स्टार क्लबका अध्यक्ष कृष्ण लिम्बूले नगद ३ हजारसहित ट्रफी प्रदान गरे । भोलि (सोमबार) भारतको युकेएफसी दार्जीलिङ र इलामको रेडहर्ष एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५-५ हजार पाउने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दी म्याचले नगद ५ हजार ट्रफी पाउने छ । गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको छ ।

गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी पाउने छ । उपविजेताले नगद १ लाख १ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपको फाइनल खेल जेठ ६ गते हुनेछ ।

Post Comments