News लिगलिडर जावलाखेल रोकियो, फ्रेण्डसलाई अझै रेलिगेशन कै खतरा
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आइतबारदेखि शुरु भएको १८औं चरणको शुरुवाती दुई खेलहरु रोमाञ्चक बराबरीमा सकिएका छन् । च्यासल स्टेडियममा भएको खेलमा लिगलिडर जावलाखेल युथ क्लबले मनाङ मस्र्याङ्दी क्लबसँग २–२ गोलको बराबरी खेल्यो । यो बराबरी नतिजाले जावलाखेलको शिर्षता यथावत रहे तापनि दोस्रो स्थानको टोली चर्च ब्वाईजसँग स्पष्ट तीन अंकको अग्रता बनाउनबाट भने चुकेको छ ।

आइतबार मनाङ विरुद्ध २–० को स्पष्ट अग्रता बनाएर पनि जावलाखेलले त्यसलाई अन्तिम समयमा गुमाउन पुगेको थियो । ३५औं मिनटमा एन्कोटो मासोबी र ७५औं मिनटमा हिसुब थपलियाले गरेको गोलको सहयोगमा जावलाखेलले स्पष्ट अग्रता बनाए पनि मनाङले खेलमा नाटकीय पूनःरागमन गरेको थियो । ८०औं मिनटमा बिषन गुरुङले मनाङका लागि पहिलो गोल गरे भने ९०औं मिनटमा सुमित श्रेष्ठले दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

यो नतिजापछि १८ खेलबाट ३१ अंक जोडेको जावलाखेल शिर्ष स्थानमा छ र दोस्रो स्थानको टोली चर्च ब्वाईज भन्दा एक अंकले मात्र अगाडी छ । चर्च ब्वाईजले भने एक खेल कम खेलेको छ । उता मनाङ भने २२ अंकका साथ सातौं स्थानमा छ ।

एनआरटी र फ्रेण्डसको पनि रोमाञ्चक बराबरी

त्यस्तै आइतबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटी र फ्रेण्डस क्लबले पनि समान २–२ गोलको बराबरी खेले । फ्रेण्डसले खेलमा दुईपटक लिएको अग्रता जोगाउन नसक्दा बराबरी खेल्न बाध्य बन्यो । खेलको २८औं मिनटमा रफिक अमिनुको गोलबाट फ्रेण्डसले खेलमा अग्रता बनाएको थियो । त्यो अग्रता फ्रेण्डसले पहिलो हाफसम्म कायम पनि राख्यो ।

तर दोस्रो हाफको ५८औं मिनटमा फ्रेण्डसका अमित तामाङले आत्मघाती गोल गर्दा खेल १–१ को स्थितिमा पुगेको थियो । यद्यपि ६६औं मिनटमा अमित तामाङले नै पेनाल्टीबाट फ्रेण्डसलाई दोस्रोपटक खेलमा अग्रता दिलाए । तर खेलको अन्तिमतिर ८९औं मिनटमा निकोलास सर्जे संङले एनआरटीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए ।

यो नतिजापछि १८ खेलबाट २२ अंक जोडेको एनारटी लिगतालिकाको आठौं स्थानमा छ । फ्रेण्डस भने २० अंकका साथ ११औं स्थानमा छ । र रेलिगेशन क्षेत्रको टोली पुलिस भन्दा एक अंकले मात्र अगाडी छ ।

Post Comments