News साबित्राको केरला र अन्जिलाको सेथु सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं । हिरो इण्डियन वुमन्स लिग खेलिरहेका नेपालका दुई चर्चित महिला फुटबलरद्वय साबित्रा भण्डारीको गोकुलम केरला र अन्जिला तुम्बापो सुब्बोको सेथु एफसी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ट्रान्सस्टाडियामा भएको क्वाटरफाइनल भिडन्ततर्फ डिफेन्डिङ च्याम्पियन समेत रहेको केरलाले बलियो प्रतिद्वन्द्वी ओडिसा एफसीलाई टाईब्रेकरमा हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ ओडिसाका लागि स्टार फरवार्ड बाला देवीले गोल गरेकी थिईन् भने केरलाका लागि रोजा देवीले गोल गरेकी थिईन् । टाईब्रेकरमा भने केरलाले नतिजा ३–० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा केरलाले दोस्रो हाफको शुरुवातबाटै दश खेलाडीमा खुम्चिएर खेल्न बाध्य बनेको थियो । भरपर्दा र अनुभवी डिफेन्डर रन्जना चानुले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा केरला दश खेलाडीमा सिमित बनेको थियो । यद्यपि ओडिसाले त्यसको फाईदा उठाउन सकेन । खेलमा साबित्राको प्रदर्शन पनि दर्शनीय रह्यो । तर उनले पाएको धेरैजसो अवसरलाई गोलमा परिणत गर्न असफल भईन् ।

त्यसैगरी शाहीबाग पुलिस स्टेडियममा सम्पन्न अर्को क्वाटरफाइनलमा अन्जिलाको सेथु एफसीले इष्ट बंगाल एफसीमाथि ९–० को फराकिलो र एकतर्फी जित निकाल्दै सेमिफाइनल स्थान पक्का गर्न सफल भयो ।

सेमिफाइनलतर्फ अब साबित्रको गोकुलम केरलाले इष्टर्न स्र्पोटिङ युनियनसँग खेल्नेछ भने अन्जिलाको सेथु एफसीले सरु लिम्बु र रेनुका नगरकोटी आवद्ध किकस्टार्ट एफसीसँग प्रतिस्पर्धा गर्नेछ । दुवै सेमिफाइनल खेल आउँदो शुक्रबारका दिन हुनेछ ।

 

Post Comments