News लिगको 'अघोषित फाइनल' खेल्न आर्मी र मच्छिन्द्र तयार
गोलनेपाल

काठमाडौं (खेलदैनिक) । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब पहिलोपटक ऐतिहासिक लिग उपाधि जित्ने संघारमा छन् ।

सम्भवतः कुनै पनि मुलुकको शिर्ष लिगमा फाइनल हुँदैन । तर, नेपालको परिप्रेक्ष्यमा शनिबार हुने लिगको अन्तिम खेल अघोषित फाइनलका रुपमा रहेको छ । अर्थात, भोली हुने खेल जसले जित्छ, लिग उपाधि पनि उसकै पोल्टामा जाने निश्चित छ।

यद्यपि आर्मीलाई भने बराबरी नतिजा पनि लिग उपाधि जिताउन प्रर्याप्त बन्नेछ । उता मच्छिन्द्रलाई भने निश्चित जितको खाँचो छ । हार्नु भनेको मच्छिन्द्रका लागि उपविजेता बन्नु नै हो । जुन कुरा उसले राम्रोसँग बुझेको पनि छ ।

शहिद स्मारक ए डिभिजन लिगको इतिहासमा यी दुवै क्लबले अहिलेसम्म लिग उपाधि जितेका छैनन् । त्यसैले पनि शनिबार हुने यी दुई टोलीबीचको भिडन्तले लिगको नयाँ विजेता चुन्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सो बहुप्रतिक्षित भिडन्तको पूर्वसन्ध्यामा प्रिम्याच कन्फिरेन्सको आयोजना पनि गर्यो । सो अवसरमा उपस्थित आर्मीका कप्तान भरत खवास र मच्छिन्द्रका कप्तान बिराज महर्जनले लिग उपाधि जित्नु नै आ–आफ्नो लक्ष्य रहेको स्पष्ट पारे ।

बिराजले गत बर्ष मनाङका लागि खेल्दै यो उपाधि जितेका थिए । संयोग मान्नुपर्छ, भरत र बिराज दुवै एन्फा एकेडेमीका उत्पादन हुन्, दुवै एउटै ब्याचका हुनुका साथै राष्ट्रिय टोलीमा पनि पछिल्ला एक दशकमा भएका अन्तर्राष्ट्रिय म्याचहरुमा यी दुईको बलियो उपस्थिति हुने गथ्र्यो ।

दशरथ रंगशालामा हुने खेलमा आर्मीले बराबरी गरे पुग्ने भए तापनि आर्मीका कप्तान भरत भने मच्छिन्द्रसँग सजग छन् । भरतका अनुसार लिग भए तापनि अन्तिम खेल निर्णायक भिडन्तका रुपमा रहेकाले बराबरी नभई निश्चित जितकै लागि खेल्ने बताए ।

उता मच्छिन्द्रका कप्तान बिराजको बुझाई पनि उस्तै थियो । अन्तिम खेलमा आफूहरुलाई निश्चित जित चाहिएको भए तापनि मच्छिन्द्रले आर्मीलाई कडा चुनौति दिंदै लिग उपाधि कै लागि मैदानमा उत्रिने बताए ।

त्यस्तै उता आर्मीका प्रशिक्षक नविन न्यौपाने र मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल पनि एउटै पुस्ताका चर्चित खेलाडी समेत हुन् । त्यसैले पनि यी दुवै प्रशिक्षक एक अर्कालाई बुझेर भोलीका लागि छुट्टै रणनीति बनाएर मैदानमा उत्रिने मनसायमा पनि छन् । यद्यपि दुवैको योजना भने एउटै छ, निश्चित जित र लिग उपाधि ।

लिगतालिकामा १२ खेलबाट २९ अंक जोडेको आर्मी शिर्ष स्थानमा छ भने समान खेलबाट २८ अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा छ । साथै लिगमा दुवै टोलीले समान ९ जित, दुई बराबरी र १ मा हार बेहोरेका छन् ।

आर्मीले मनाङसँग हार बेहोरेको थियो भने मच्छिन्द्रले हिमालयन शेर्पासँग स्तब्धपुर्ण पराजयको सामना गरेको थियो । यी तमाम कुराहरुका बावजुद शनिबार हुने त्यो भिडन्तले घरेलु फुटबलमा नेपालले नयाँ लिग च्याम्पियन पाउने निश्चित भने छ ।

Post Comments