News आर्मी र संकटा निराश, मच्छिन्द्र र जावलाखेल रोकिए
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबार भएका २१औं चरणका शुरुवाती तीन खेलहरुमा स्तब्धपुर्ण नतिजाहरु निस्किएका छन् । दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा बलियो त्रिभुवन आर्मी फुटबल क्लबले एनआरटीसँग शून्यका विरुद्ध १ गोलको हार बेहोरेको छ ।

दोस्रो हाफको ७९औं मिनटमा कृतेश रत्न छुन्जुले गरेको एक मात्र गोल एनआरटीलाई आर्मी विरुद्ध महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो । यो जितपछि २१ खेलबाट २६ अंक जोडेको एनआरटी लिगतालिकाको नवौं स्थानमा उक्लेको छ । पराजित आर्मी भने २९ अंकका साथ पाँचौं स्थानमा छ ।

त्यस्तै च्यासल स्टेडियममा भएको दोस्रो खेलमा नेपाल एपिएफ फुटबल क्लबले संघर्षरत टोली संकटा क्लबमाथि २–१ को जित निकाल्यो । एपिएफलाई सातौं जित दिलाउने क्रममा आवाश लामिछानेले पहिलो हाफको २५औं मिनट र अतिरिक्त समयमा गरी दुई गोल गरे । उता संकटाका लागि ४९औं मिनटमा मनिष डाँगीले एक गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यो जितपछि २६ अंक जोडेको एपिएफ सातौं स्थानमा छ । उता पराजित संकटा भने २३ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थानमाथि १२औं स्थानमा छ ।

त्यसैगरी दशरथ रंगशाला मै भएको दिनको अन्तिम खेलमा शिर्षताको होडमा रहेका दुई टोली जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि २१ खेलबाट ३५ अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा छ भने एक अंक कम रहेको जावलाखेल तेस्रो स्थानमा छ ।

एक खेल कम खेलेको लिगलिडर चर्च ब्वाईज युनाइटेड ३७ अंकका साथ शिर्ष स्थानमा यथावत छ । र, जावलाखेल र मच्छिन्द्रको यो बराबरी नतिजाले चर्च ब्वाईजलाई फाईदा समेत पुगेको छ ।

Post Comments